काठमाडौँ । प्रधानमन्त्री बालेन साहले सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न अपील गरेका छन् ।
बिहीबार राति देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री साहले अशान्ति र विभाजनको अवस्था अन्त्य गर्दै आपसी एकता, शान्ति र सद्भाव कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।उनले केही दिनअघि भएको सुनसरीमा भएको दुःखद घटना र त्यसपछि उत्पन्न अशान्त वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताए ।
प्रधानमन्त्रीले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकेको जानकारी दिए ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको प्रधानमन्त्रीले बताए। छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने दाबी गरे ।
स्थितिलाई सामान्य बनाउन र थप अप्रिय घटना हुन नदिन सम्पूर्ण सुरक्षा निकायलाई तत्काल घटनास्थलमा खटाइएको उनले बताए ।
स्थानीय स्तरमा प्रत्यक्ष अनुगमन गर्न र शान्ति सुरक्षा सुदृढ बनाउन गृहमन्त्री स्वयं घटनास्थल पुगेको उनले जानकारी दिए। यसैगरी, देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर आवश्यक निर्णयहरू गरिएको उनले बताएका छन् ।
प्रधानमन्त्रीले स्थितिलाई सामान्यीकरण गर्न केन्द्रमा सर्वदलीय बैठक आह्वान गरिएको र स्थानीय तहमा पनि निरन्तर संवाद भइरहेको बताए । उनले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य सूचना, अफवाह र घृणा फैलाउने सामग्री प्रचारप्रसार नगर्न अपील गरेका छन् ।





