Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

देवानगञ्ज घटना:सरकार र पीडित परिवारबीच सहमति,मृतकलाई शहीद घोषणा गरिने


सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा परी मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच विभिन्न माग सम्बोधन गर्ने गरी सहमति भएको छ।

सहमति पत्रअनुसार सरकारले मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।त्यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ । देवानगञ्ज– ३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने पनि सम्झौतामा समावेश छ ।
सम्झौताअनुसार प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ । साथै, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव र सिफारिस कानुनबमोजिम कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ ।

यसैगरी, मृतकद्वयको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ । सम्झौतामा मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावकको तर्फबाट तथा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै पीडित परिवारले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । मृतकद्वयको अन्त्येष्टि आज दिउँसो २ बजे गरिने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार