काठमाडौं । प्रधानमन्त्री बालेन साहले मधेस प्रदेशका नेताहरूसँग पछिल्लो समय देखिएको हिंसात्मक घटनाक्रम र सामाजिक सद्भावको विषयमा छलफल गरेका छन् ।
शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीले नेताहरुसँग छलफल गरेका हुन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसमा फैलिँदै गएको तनाव रोक्न राज्यले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।
महतोले केही दिनअघि आफूहरूले आठ बुँदे निर्णय गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जानकारी गराएको र आज प्रधानमन्त्रीलाई समेत त्यसबारे अवगत गराएको बताए ।
उनले कुनै पनि घटनाले साम्प्रदायिक स्वरूप लिन नहुने भन्दै सामाजिक सद्भाव कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । छलफलमा प्रधानमन्त्रीले आफूलाई संघीयताविरोधीको रुपमा नलिन मधेशकेन्द्रित दलका नेताहरूलाई आग्रह गरेका थिए ।
उनले आफ्नो कारणले संघीयतामा कुनै खतरा हुन्छ भन्नेमा नसोच्न अनुरोध गरेका थिए । यस्तै, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्रीले पहिलो पटक मधेस केन्द्रित दलहरूलाई बोलाएर छलफल गर्नु सकारात्मक कदम भएको प्रतिक्रिया दिएका छन् ।
उनले सुनसरीमा भएको घटना र त्यसपछि फैलिएको हिंसाका विषयमा प्रधानमन्त्रीले छलफल आयोजना गरेको भन्दै यसलाई सकारात्मक रूपमा लिएको बताए ।उनले संघीयता लगायतका विषयमा समेत छलफल भएको जानकारी दिँदै आफूहरूले दिएका सुझाव कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।





