काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन तथा विभिन्न नेताका घरमा आगजनी भएको उल्लेख गर्दै त्यसबाट मुलुकको राजनीतिक र बौद्धिक सम्पदामा क्षति पुगेको बताएका छन् ।
तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उनले जेनजी आन्दोलनका क्रममा विभिन्न महत्वपूर्ण दस्तावेज, नेताहरूका घर तथा सरकारी भवनमा आगजनी भएको भन्दै उक्त घटनाको असर विभिन्न संस्थाले पनि भोग्नुपरेको बताए ।
उनले नेकपा एमालेको पुस्तकालय तथा त्यहाँ रहेका बहुमूल्य पुस्तकसमेत आगजनीबाट नष्ट भएको उल्लेख गरे ।
माधव नेपालले मुलुकको राजनीति र इतिहासमा योगदान पुर्याएका अग्रज व्यक्तित्वहरूको सम्मान गर्नुपर्नेमा जोड दिए । नयाँ पुस्ताले इतिहास र त्यसमा योगदान दिने व्यक्तित्वलाई चिन्न, बुझ्न र सम्मान गर्न नसक्नु दुःखद विषय भएको उनको भनाइ थियो ।
उनले समाजमा बढ्दो हिंसा र आगजनीका घटनाप्रति चिन्ता व्यक्त गर्दै अरूको घर, सम्पत्ति तथा परिवारमाथि हुने हिंसाको पीडा आफूलाई परेको भए कस्तो हुन्थ्यो भन्ने सोच्न आवश्यक रहेको बताए । समाजमा सहिष्णुता, सम्मान र जिम्मेवारीको संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिए ।





