Logo
१७ श्रावण २०८३, आईतवार
|  Sun Aug 2 2026

सरकारविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने दुर्गा प्रसाईँको घोषणा


काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्।

काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रसाईँले वर्तमान लोकतान्त्रिक भनिने व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोसिएको र विचार मानिने लोकतन्त्रमा नागरिकका आधारभूत अधिकार समेत कुण्ठित गरिएको बताए।

उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उपदेश स्मरण गर्दै नेपाल सबै जातजाति र वर्गको साझा फूलबारी भएको बताए । उनले सरकार र सत्तापक्षीय नेताहरूले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति र प्रपञ्च रचिरहेको आरोप समेत लगाए ।

पूर्ववर्ती सरकार र विभिन्न समयमा भएका सम्झौताहरूको प्रसङ्ग जोड्दै प्रसाईँले किरात र बौद्ध धर्मसहितको वैदिक सनातन हिन्दु अधिराज्य स्थापना र राजसंस्थाको स-सम्मान पुनर्बहाली नै आफ्नो अभियानको प्रमुख एजेन्डा रहेको दोहोर्‍याए।

संविधान संशोधन गरी उच्चस्तरीय कार्यदल मार्फत आफ्ना मागहरू तत्काल सम्बोधन नगरिए वर्तमान व्यवस्था नै ढाल्ने कडा चेतावनीसमेत प्रसाईँले दिएका छन्। देशको आर्थिक तथा राजनीतिक अवस्था खस्कँदै गएको सन्दर्भ जोड्दै उनले राष्ट्रको गुम्दै गएको अस्तित्व जोगाउन आह्वान गरेका छन्।

हिन्दु राष्ट्र पुनर्बहाली र नागरिकका अधिकार सुनिश्चित गर्ने यस निर्णायक अभियानमा एकताबद्ध भएर उभिन उनले नेपालका सम्पूर्ण बुद्धिजीवी, पत्रकार, नागरिक समाज र आम सर्वसाधारणलाई विशेष अपिल गरेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार