Logo
१७ श्रावण २०८३, आईतवार
|  Sun Aug 2 2026

भदौ १८ देखि कर्पोरेट क्रिकेट लिग (सीसीएल) तेस्रो संस्करण, २० कर्पोरेट टोलीबीच प्रतिस्पर्धा


काठमाडौं । भेट्रान्स फोर्टी क्लबले कर्पोरेट क्रिकेट लिग (सीसीएल) को तेस्रो संस्करण आगामी भदौ १८ देखि २१ गतेसम्म आयोजना गर्ने भएको छ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिता बुढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेल मा सञ्चालन हुने जानकारी दिएको हो।

यस संस्करणमा विभिन्न क्षेत्रका २० कर्पोरेट टोली सहभागी हुनेछन्। टोलीहरूलाई चार समूहमा विभाजन गरिनेछ। सिंगल राउन्ड रोबिन लिगका खेलपछि प्रत्येक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ४७ खेल खेलाइने आयोजकले जनाएको छ।

प्रतियोगिताको फाइनलअघि दर्शकको मनोरञ्जनका लागि कलाकार तथा कर्पोरेट क्षेत्रका कार्यकारीबीच प्रदर्शनी (एक्जिबिसन) क्रिकेट खेल समेत आयोजना गरिनेछ।

प्रतियोगिताका विजेता र उपविजेताले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै सर्वोत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट फिल्डर, उत्कृष्ट विकेटकिपर, फेयर प्ले टोली, साथै सर्वाधिक छक्का र चौका प्रहार गर्ने खेलाडीलाई पनि विधागत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

भेट्रान्स फोर्टी क्लबले यसअघि कर्पोरेट क्रिकेट लिगका दुई संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ। प्रतियोगितामा २५ वर्ष वा सोभन्दा माथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ६० देखि ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। क्लबले यस प्रतियोगितामार्फत कर्पोरेट क्षेत्रका कर्मचारीबीच खेलकुद संस्कृतिको विकास, आपसी सम्बन्ध सुदृढीकरण तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने लक्ष्य राखेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार