Logo
१९ श्रावण २०८३, मंगलवार
|  Tue Aug 4 2026

देवानगंज घटनामा घाइते भएका रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु


काठमाडौँ । सुनसरीको कप्तानगञ्ज गाउँपालिकाको देवानगंज घटनामा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा मंगलबार रवीन्द्र मेहताको मृत्यु भएको रास्वपाका नेता वीरेन्द्र केएमले जानकारी दिएका छन् ।

मेहतासँगै सुनसरीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि सोही घटनामा घाइते भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भइसकेको छ । साउन १० गते राति कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

देवानगञ्ज गोली काण्डका अर्का घाइते देवानगञ्ज-३ का १८ वर्षीय अमित यादवको काठमाडौंकै ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनलाई हात र कोखमा गोली लागेको थियो । नोबेल शिक्षण अस्पतालबाट उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत बिहीबार काठमाडौं लगिएको थियो ।

सो घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र देवानगन्ज–३ का १८ वर्षीय अमलेश मेहताको  न्युरो अस्पताल विराटनगरमा  उपचार भइरहेको छ । मिथिलेशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो । उनको शल्यक्रिया गरेर गोली निकालिएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार