Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

सञ्चार उपग्रह बोकेको चिनियाँ रकेट प्रक्षेपण असफल


बेइजिङ। सञ्चार उपग्रह बोकेको चिनियाँ लङ मार्च–७ए रकेट प्रक्षेपणका क्रममा असफल भएको छ । सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार रकेटमा उडानका क्रममा ‘विसङ्गति’ देखिएपछि प्रक्षेपण असफल भएको हो । प्रत्यक्षदर्शीले खिचेको भिडियोमा रकेट आकाशमै विस्फोट भएको देखिएको छ।

चीनको दक्षिणी प्रान्त हाइनानस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट सोमबार स्थानीय समयअनुसार राति ८ः०२ बजे रकेट प्रक्षेपण गरिएको थियो । रकेटले झोङ्जिङ–४बी सञ्चार उपग्रहलाई अन्तरिक्षमा स्थापित गर्ने लक्ष्य राखेको थियो ।

सिन्ह्वाले रकेट उडानमा रहेकै बेला ‘विसङ्गति’ देखिएको जनाएको छ । असफलताको वास्तविक कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।सिङ्गापुरस्थित च्यानल न्युजएशियाले सामाजिक सञ्जाल इन्स्टाग्राममा रकेट विस्फोट भएको दृश्य सार्वजनिक गरेको छ । हाइनानबाट सञ्चालित एउटा सामाजिक सञ्जाल खातामा प्रक्षेपण भएको केही घण्टापछि सार्वजनिक गरिएको अर्को भिडियोमा रकेट उडेको करिब ८५ सेकेन्डपछि आकाशमा ठूलो आगोको गोला देखिएको छ । त्यसपछि भग्नावशेष जमिनतर्फ खस्दा आकाशमा बाक्लो धुवाँको बादल बनेको देखिन्छ ।

पछिल्लो असफलताले चीनको तीव्र रूपमा अघि बढिरहेको अन्तरिक्ष कार्यक्रममाथि ध्यानाकर्षण भएको छ । चीनले राष्ट्रपति सी जिनपिङले अघि सारेको ‘अन्तरिक्ष सपना’ पूरा गर्ने उद्देश्यले पछिल्ला वर्षमा अन्तरिक्ष कार्यक्रमका लागि अर्बौं डलर लगानी गर्दै आएको छ ।

यसैबीच, चीनले गत जुलाईमा पहिलोपटक पुनःप्रयोग गर्न मिल्ने रकेट सफलतापूर्वक अवतरण गराएको थियो । चिनियाँ अन्तरिक्ष निकायका अनुसार उक्त उपलब्धि अन्तरिक्ष कार्यक्रमको महत्वाकांक्षा पूरा गर्न र भविष्यमा प्रक्षेपण लागत घटाउन महत्त्वपूर्ण कदम हो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार