काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले युवालाई मतदान गर्ने जमातका रूपमा मात्र नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताएका छन् ।बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले युवाको अधिकार, सहभागिता, सशक्तीकरण र भविष्यका विषयमा गम्भीर बहस आवश्यक रहेको बताए ।
उनले भने, ‘युवालाई मतदान गर्ने जमात मात्रै होइन, राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्छ । विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशमा परिचालन गर्न ‘रिटर्नी युवा उद्यमशीलता’ को ठोस नीति आवश्यक छ । तीनै तहका सरकारले युवाको सहभागिता, नेतृत्व र सिर्जनशीलतालाई विकासको केन्द्रमा राख्नुपर्छ ।’
आङदेम्बेले विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशमै परिचालन गर्न ‘रिटर्नी युवा उद्यमशीलता’ सम्बन्धी ठोस नीति आवश्यक रहेको बताए । तीनै तहका सरकारले युवाको सहभागिता, नेतृत्व र सिर्जनशीलतालाई विकासको केन्द्रमा राख्नुपर्नेमा उनले जोड दिए ।





