Logo
२७ श्रावण २०८३, बुधबार
|  Wed Aug 12 2026

लालबकैया खोलामा डुबेका ३ बालबालिका मध्ये २ जनाको शव फेला


रौतहट।  देवाही गोनाही नगरपालिका -०१ करुनियास्थित लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ भने एक बालक अझै बेपत्ता छन् । लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा देवाही गोनाही नगरपालिका –०१ करुनिया बस्ने करमे आलमका करिब १० वर्षीय छोरा महमद रमतुलाह, हिसी अकतरकी करिब १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन पानीमा डुबेर बेपत्ता भएका थिए ।
घटनाबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा ७ जना, सशस्त्र प्रहरी बल बेस देवाही गोनाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमाण्डमा ५ जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमाण्डमा रबर बोर्डसहितको टोलीले खोजी तथा उद्धारमा परिचालन भएको थियो ।
खोजीका क्रममा साउन २७ गते बिहान ७:३० बजे महमद रमतुलाह घटनास्थलबाट करिब ५ किलोमिटर दक्षिण परोहा नगरपालिका –०२ जिंगडवास्थित लालबकैया खोला किनारमा मृत अवस्थामा फेला परेका हुन् । सोही समयमा सबनम खातुन पनि घटनास्थलबाट करिब ५.२ किलोमिटर दक्षिण जिंगडवास्थित खोला किनारमा मृत अवस्थामा फेला परेकी थिइन् । दुवै शव करिब २०० मिटरको दूरीमा फेला परेको हो ।
बेपत्ता रौशन खातुनको भने खोजी कार्य जारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार