Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

नाट्टा नयाँ नेतृत्वमा भण्डारीको प्यानल बलियो बन्दै,युवा ऊर्जा,नेतृत्व क्षमता र अनुभवको समीकरण


काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वको लागि प्रतिस्पर्धा तीव्र बनेको छ । नाट्टाको नयाँ नेतृत्वका लागि तीन जना दौडमा देखिएका छन् । तीन जनामध्ये दुई जना महिला छन् । नाट्टाको इतिहासमा दुई जना महिला बलियो प्रतिस्पर्धीको रूपमा उम्मेदवार पहिलोपटक भइरहेका छन् ।

नाट्टाको नयाँ कार्यसमिति चयनका लागि शुक्रबार निर्वाचन हुँदै छ । आगामी कार्यकाल २०२६–२०२८ का लागि अध्यक्ष पदमा तीन जना प्रत्याशीसहित ४५ जना उम्मेवार द्वार चुनावी मैदानमा छन् ।नाट्टाको वर्तमान महासचिव युविका भण्डारी, प्रथम उपाध्यक्ष जिश्वा तुलाधर श्रेष्ठ र पर्यटन व्यवसायी भरतजंग पाण्डेले आ–आफ्नो प्यानल बनाएर उम्मेदवारी दिएका छन् । तीनै प्यानलले पर्यटन व्यवसायीको हकहित, नीतिगत सुधार, डिजिटल प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय बजार विस्तार तथा व्यवसायीका समस्या समाधानलाई प्राथमिकतामा राखेका छन् ।

महासचिव भण्डारी नेतृत्वको प्यानलले ‘पर्यटन उठे नेपाल उठ्छ’ भन्ने नारासहित १० बुँदे प्रतिबद्धता अघि सारेको छ । प्यानलले पर्यटन व्यवसायमा देखिएका नीतिगत, कर, पूर्वाधार र टिकेटिङसम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राखेको छ । प्यानलले हवाई टिकटमा लाग्ने भ्याट हटाउन पहल गर्ने, पर्यटन विधेयक छिटो पारित गराउन दबाब दिने तथा विदेशी मुद्रा भित्र्याउने पर्यटन व्यवसायीलाई प्रोत्साहन वा छुटको व्यवस्था गर्न पहल गर्ने जनाएको छ । त्यस्तै, पर्यटन सवारीका लागि व्यवस्थित पर्यटक बसपार्क निर्माण, गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट क्षेत्रीय तथा अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी विस्तार र आयटा टिकेटिङमा देखिएका क्यापिङ, भ्वाइड चार्ज तथा नन रिफन्डेवल टिकट लगायतका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।

पछिल्लो समय पर्यटन व्यवसाय प्रविधि, डिजिटल प्रणाली, अन्तर्राष्ट्रिय कनेक्टिभिटी र बदलिँदो पर्यटकको मागसँगै तीव्र रूपमा परिवर्तन भइरहेको छ । यस्तो अवस्थामा नाट्टालाई केवल व्यवसायीका समस्या उठाउने संस्थाका रूपमा मात्र नभई समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने, सदस्यलाई प्रविधिमार्फत जोड्ने र सरकारसमक्ष तथ्य तथा अध्ययनसहित प्रभावकारी पैरवी गर्ने संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको भण्डारी पक्षको जोड छ ।

डिजिटल क्षेत्रमा एकीकृत नाट्टा पोर्टल, नाट्टा पोडकास्ट तथा पर्यटन संवाद प्रणाली सञ्चालन गर्ने र व्यवसायीलाई कानुनी तथा वित्तीय सहयोग उपलब्ध गराउन हेल्प डेस्क स्थापना गर्ने यो समूहको एजेन्डा छ ।नाट्टालाई पर्यटन क्षेत्रकै अग्रणी संस्था बनाउने समेत उनको प्यानलको प्रतिबद्धता छ । यस समूहको वरिष्ठ उपाध्यक्षमा वर्ल्डवाइड टुर्स एन्ड ट्राभल्सका सञ्चालक वरुण मेहता छन् । उपाध्यक्षमा ढकनाथ ढकाल, महासचिव कृष्णप्रसाद ढकाल, सचिव श्रद्धा जोशी, कोषाध्यक्ष रमाकुमारी प्याकुरेल र सहकोषाध्यक्षमा विदुर खतिवडा उम्मेदवार छन् ।

कार्यसमिति सदस्यमा प्रदीपप्रसाद उदय, विवश पौडेल, श्रीराम थापा, स्मारिका थापा, संकेत ढकाल, डा। उमेश गुप्ता, होमबहादुर परियार र राजेन्द्रप्रसाद त्रिपाठी छन् ।

नाट्टामा महिला नेतृत्वको इतिहासलाई हेर्दा अम्बिका श्रेष्ठले सुरु गरेको यात्राले अहिले नयाँ पुस्तासम्म निरन्तरता पाउने सम्भावना देखिएको छ । यद्यपि युविका भण्डारीको उम्मेदवारीलाई केवल महिला प्रतिनिधित्वको विषयमा सीमित नगरी उनको अनुभव, नेतृत्व क्षमता, कार्ययोजना र पर्यटन क्षेत्रप्रतिको दृष्टिकोणका आधारमा मूल्यांकन गर्नुपर्ने देखिन्छ ।नाट्टामा करिब ९ सय मतदाता छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार