काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीतिक अवस्था अत्यन्तै संवेदनशील रहेको बताएका छन् ।
काठमाडौंमा शुक्रबार सुरु भएको पार्टीको राष्ट्रिय भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले यस्तो अवस्थामा कांग्रेसका सबै नेता–कार्यकर्ता सजग भएर राष्ट्रिय एकता कायम गर्ने भूमिका खेल्नुपर्ने बताएका हुन् ।
उनले पछिल्लो समय समाजमा निराशा देखिएको भन्दै त्यसलाई आशामा बदल्ने जिम्मेवारी कांग्रेसको रहेको बताए । उनले भने, ‘निराशालाई आशामा बदल्नुपर्ने हुन्छ । त्यो दायित्व पनि सबैभन्दा पुरानो लोकतन्त्रवादी पार्टी नेपाली कांग्रेसले लिनुपर्दछ ।’
उनले तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई आफूले प्रजातन्त्रको खिलाफमा जान नसक्ने बताएपछि जेल हालिदिएको बताए । उनले भने ’राजा ज्ञानेन्द्रलाई प्रजातन्त्रको खिलाफमा जान सक्दैनँ भनेकै हुँ । बेलायतको राजाजस्तो भएर बस भनेकै हुँ । उल्टो मलाई जेल हालिदियो ।’उनले संविधानसभाबाट देशमा गणतन्त्र आएकोले अहिले आफूलाई राजासँग मिल्न लागेको, राजा ल्याउन लागेको आरोप लगाउन नमिल्ने बताए ।
उनले भने, ‘प्रजातन्त्रको लागि विद्यार्थीकालदेखि लडेको मानिस हुँ । राजालाई प्रजातन्त्रको खिलाफमा बाहेक सबै कुरा कुरा मान्छु भनेको मानिस हुँ । मलाई राजासँग मिल्न लाग्यो भन्छन् ।’ उनले राजाले शाही आयोग बनाएर जेल हाले पनि अदालतले आफूलाई न्याय दिएको बताए ।





