बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबरजस्ती करणीपछि हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जीतपुरसिमरा–१ की गरिमा चौधरी साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्। तीन दिनदेखि बेपत्ता बालिका मंगलबार साँझ घरबाट करिब १५० मिटर दक्षिणमा रहेको विगत पाँच महिनादेखि खाली वीरबहादुर रोकाको घरभित्र मृत फेला परेकी थिइन्।
प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गर्दा बालिकाको शव नग्न अवस्थामा रहेको र भित्री कपडालगायतका लुगा पनि घटनास्थलमै फेला पारेको जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको शरीरमा चोट देखिएको तथा घटनास्थलको अवस्थासमेत हेर्दा जबरजस्ती करणीपछि हत्या गरिएको आशंका गरिएको थियो। शव परीक्षणका लागि अस्पताल पठाइएको छ। घटनाको थप पुष्टि शल्यपरीक्षण रिपोर्ट आएपछि हुने प्रहरीले जनाएको छ।
यसैबीच, बालिकाको हत्यामा संलग्नलाई कडा कारबाहीको माग गर्दै स्थानीयले बुधबार पथलैया–वीरगञ्ज सडकखण्ड अवरुद्ध गरेका छन्। स्थानीयले दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन्।





