काठमाडौँ । नेकपा एमालेले अहिलेको सरकारको शक्तिको स्रोत सेना, अल्गोरिदम र अमेरिका रहेका बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले बालेन नेतृत्वको सरकारको शक्तिको स्रोत तीन ‘ए’ भएका बताएक हुन् ।उनले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमा गम्भीर सङ्कट पैदा भएको दाबी गरे । उनले भने, ‘२०१७ सालमा महेन्द्रतन्त्र र २०६१ सालमा ज्ञानेन्द्रतन्त्र आएजस्तै अहिले मुलुकमा बालेन्द्रतन्त्र स्थापित भएको छ ।’
उनले अहिलेको सरकार अधिनायकवादतिर उन्मुख भएको र यसले लोकतन्त्रलाई संकटमा पारेको बताए । थापाले रास्वपाभत्रको आन्तरिक सत्ता संघर्षले राष्ट्रिय सुरक्षामा चिन्ता बढाएको बताउँदै भू–राजनीतिक चलखेलको आशंका व्यक्त गरे ।
रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेनको संसदमा आकस्मिक आगमनबीच सम्बन्ध रहेको उनले बताए ।उनले भने,‘एकतिर भारतमा रास्वपा सभापतिले भव्य स्वागत पाउनु र अर्कोतिर नेपालमा प्रधानमन्त्रीले आफ्नै भूमि मिचिएको स्वीकार्नु रहस्यमय छ । कतै नेपाल सिक्किमीकरणको प्रक्रियामा त छैन ? यसले गम्भीर संशय पैदा गरेको छ । उनले प्रधानमन्त्री बालेन साहको कार्यशैलीमा सुधार नआए र सभापति लामिछानेले पुनर्गठनको पहल नगरे आन्दोलनमा जाने चेतावनी दिए ।





