हेटौँडा । बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । थापालाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
त्यस्तै नवनियिुक्त ६ मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । एमालेबाट भरतबहादुर केसी र ज्ञानबहादुर तामाङ मन्त्री बनेका छन् भने नेकपाबाट सरल सहयात्री, राप्रपाबाट गिरबहादुुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतिलाई मन्त्री नियुक्त भएका हुन् ।
केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ । राप्रपाका तामाङलाई स्वास्थ्य तथा सामाजिक मन्त्रालय, विष्टलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र प्रजापतिलाई उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
ज्ञानबहादुर तामाङ भने विना विभागीय रहेका छन् प्रदेशको कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री थापाले आफू मातहत नै राखेका छन्।





