काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कानुनबमोजिम गाँजा खेती व्यवस्थित गरिए अर्थ मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताएका छन् ।शुक्रबार राष्ट्रिय सभाको प्रश्नोत्तर कार्यक्रममा सांसद विष्णुकुमारी सापकोटाले गाँजा खेतीलाई वैध बनाउने सरकारको योजनाबारे प्रश्न गरेपछि अर्थमन्त्री वाग्लेले विज्ञको अध्ययन र आवश्यक कानुनी व्यवस्थापछि अघि बढ्नुपर्ने बताए ।
सांसद सापकोटाले आयुर्वेद तथा आधुनिक चिकित्सा विज्ञानमा गाँजाका विभिन्न भाग उपयोगी रहेको उल्लेख गर्दै यसबाट औषधि, कपडा, कागज र डोरी उत्पादन गर्न सकिने बताइन् ।उनले औषधिजन्य उत्पादनका लागि गाँजा खेती गर्न सकिने कानुनी व्यवस्था भए पनि संघीय सरकारले यससम्बन्धी कानुन कहिले बनाउने भन्दै प्रश्न गरिन् । जवाफमा मन्त्री वाग्लेले पश्चिमा विकसित मुलुकहरू समेत औषधिजन्य प्रयोजनका लागि गाँजालाई वैधानिक बनाउने दिशामा अघि बढिरहेको बताए ।
नेपालमा गाँजा खेतीलाई व्यवस्थित र वैधानिक बनाउनुपर्ने बहस पछिल्लो समय बढ्दै गएको छ । यसको पक्षमा आर्थिक लाभ, किसानको आय वृद्धि, औषधि उत्पादन र विदेशी मुद्रा आर्जनको सम्भावनालाई आधार बनाइँदै आएको छ ।







