बारा । बाराको कलैया उपमहानगरपालिका –१ कटी पर्सा टोलबाट शनिबार हराएकी दुई वर्षीया बालिकालाई रातभर खोजतलास गरी सकुशल फेला पारिएको छ ।
कलैया उपमहानगरपालिका – कटी पर्सा टोल निवासी मुकेशकुमार मण्डलकी करिब दुई वर्षीया छोरी बिन्दी कुमारी मण्डल शनिबार साँझ करिब ५ः३० बजे आफ्नै घर अगाडिबाट हराएकी थिइन् । बालिकाका हजुरबुवा मदन मण्डलले राति ८ः४५ बजे अस्थायी प्रहरी पोस्ट बसपार्क, बारामा जानकारी गराएपछि तत्काल खोजतलास सुरु गरिएको थियो ।
बालिकाको खोजीका लागि रातभर सक्रिय रुपमा विभिन्न समुहमा प्रहरी टोली परिचालन गर्नुका साथै कुकुरसहितको प्रहरी टोली समेत परिचालन गरिएको थियो । आइतबार बिहान करिब ५ः४५ बजे कलैया उपमहानगरपालिका –२६ सिस्वास्थित बाटोमा बालिकालाई सकुशल फेला पारिएको हो। बिहान ११ बजे बालिकालाई उनका बुबा मुकेश कुमार मण्डल र हजुरआमा सावित्री मण्डलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।







