Logo
८ भाद्र २०८३, सोमबार
|  Mon Aug 24 2026

के खान मुस्ताङ जानुभएको ? हावा त काठमाडौंमा पनि थियो त !


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन साहको निजी भ्रमणबारे सदनलाई जानकारी दिनुपर्ने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्रीको भ्रमण निजी हुन नसक्ने बताएका हुन् । उनले प्रधानमन्त्री एक्लै नगएको भन्दै उहाँसँग सरकारी सुरक्षा संयन्त्र आफैँ सक्रिय भएर जाने भएको यो भ्रमणलार्ई निजी भन्न नसकिने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यू आफ्नो निजी भ्रमणमा जानुभएको छ भन्ने आएको छ । प्रधानमन्त्रीको निजी भ्रमण हुँदैन । यो कुरा हेक्का राख्नुपर्छ । प्रधानमन्त्री एक्लै जानुभएको हैन । उहाँसँग सरकारी सुरक्षा संयन्त्र जाने गर्छ । के खान जानुभएको ? हावा थिएन भने काठमाडौंमा हावा छ । मुस्ताङमा स्याउ पनि फलेको छैन होला अहिले । के चाख्न जानुभएको हो अहिले, त्यो पनि भन्नुपर्छ । सदनमा जवाफ दिनुपर्छ ।’

त्यस्तै, उनले कानुनको कमजोरीको फाइदा उठाउँदै अपराधीहरू खुलेआम हिँड्ने गरेको बताए । उनले भने, ‘हाम्रो देशको कानुन कमजोर कि कानुन चलाउने मान्छे ? गाडी बिग्रेको हो कि गाडी चलाउने मान्छेले चलाउन नजानेको ?’ नाबालिकामाथि हुने बलात्कार र हत्याका घटनाप्रति गम्भीर बन्न आग्रह गर्दै उनले बलात्कारसम्बन्धी कानुनी व्यवस्थालाई स्पष्ट पार्नुपर्ने र दोषी प्रमाणित भएकालाई कडा सजाय दिनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार