काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–अमेरिकाबीचको आर्थिक सहकार्यलाई तीन रणनीतिक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।
अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा सेन्टर फर साउथ एसियन स्टडिज-नेपाल (सेसिफ नेपाल) ले आयोजना गरेको कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै मन्त्री खनालले नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको तयारीमा रहेकाले द्विपक्षीय सम्बन्धलाई नयाँ आर्थिक आधारमा अघि बढाउनुपर्ने धारणा राखे ।
मन्त्री खनालले आगामी वर्ष नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ८०औँ वर्ष पूरा हुने उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध साझा लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान र बलियो जनस्तरीय सम्बन्धमा आधारित रहेको धारणा राखे ।
नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले लामो समयदेखि महत्वपूर्ण साझेदारका रूपमा योगदान गर्दै आएको उल्लेख गर्दै उहाँले सन् १९५४ को मलेरिया नियन्त्रण कार्यक्रम, सन् १९५८ को राष्ट्रिय मलेरिया उन्मूलन कार्यक्रम, सन् १९६२ देखि सञ्चालनमा रहेको पिस कर्प्स स्वयंसेवक कार्यक्रम तथा फुलब्राइट कार्यक्रमलाई दीर्घकालीन सहकार्यका उदाहरणका रूपमा प्रस्तुत गरे ।
नेपाल र अमेरिकाको राज्य निर्माणको ऐतिहासिक पृष्ठभूमि फरक भए पनि दुवै मुलुकका संस्थापक परम्परामा जनताको हित, नैतिक संयम, संस्थागत अनुशासन र जनसेवाको साझा पक्ष रहेको मन्त्री खनालले उल्लेख गरे ।








