काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को समयमा सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए ।उनले बिहानदेखि प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित सरकारी निकायका अधिकारीसँग निरन्तर सम्पर्कमा रहेर उद्धार तथा राहतका योजनाबारे जानकारी लिइरहेको बताए ।
नागरिकको ज्यान बचाउनु अहिलेको सबैभन्दा महत्वपूर्ण प्राथमिकता भएकाले सरकारले आफ्नो सम्पूर्ण सामथ्र्य त्यसतर्फ केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।सभापति लामिछानेले बाढी प्रभावित रसुवा र धादिङका नदीतटीय क्षेत्रका बासिन्दालाई थप सतर्क रहन तथा सरकारी संयन्त्रको सम्पर्कमा रहन आग्रह गरे । चितवन, नवलपरासीलगायत नदीतटीय क्षेत्रमा पनि सावधानी अपनाउन उनले अपील गरे ।
उनले प्रभावित क्षेत्रमा पर्याप्त सुरक्षा जनशक्ति तथा उपलब्ध सबै स्रोतसाधन परिचालन गर्न सरकारसँग आग्रह गरे । साथै राजनीतिक दलसँग रहेका तालिमप्राप्त तथा विपद् व्यवस्थापनमा अनुभवी जनशक्तिलाई सरकारी निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी उद्धार तथा राहतमा परिचालन गर्न सबै दललाई आह्वान गरे ।
उनले २०७२ सालको भूकम्पमा जस्तै अहिले पनि राजनीतिक दलहरूले राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताए । रास्वपा संसद्को सबैभन्दा ठूलो राजनीतिक दल भएकाले विपद्को समयमा थप जिम्मेवारीका साथ समन्वय र सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
सभापति लामिछानेले खोजी तथा उद्धारलाई पहिलो प्राथमिकता दिनुपर्ने र त्यसपछि राहत तथा पुनस्र्थापनाको काम अघि बढाउनुपर्नेमा जोड दिए । विगतका विपद्मा विदेशमा रहेका नेपालीले समेत सहयोग गर्दै आएको स्मरण गर्दै उनले यसपटक पनि देशबाहिर रहेका नेपालीबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।उनले विपद्पछि हुने पुनस्र्थापनाको काम चुनौतीपूर्ण भए पनि राज्यका सबै संयन्त्र परिचालन गरेर प्रभावित नागरिकलाई पुनस्र्थापित गर्न सकिने बताए ।








