Logo
१० भाद्र २०८३, बुधबार
|  Wed Aug 26 2026

रसुवा बाढीपीडितका लागि एनआरएनएको ५ करोड सहयोग


रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी भीषण बाढीबाट प्रभावित तथा पीडित नागरिकको उद्धार, राहत र स्वास्थ्य सेवाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले संघले यो निर्णय गरेको हो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष हेमराज शर्माको अध्यक्षतामा बुधबार बसेको बृहत् भर्चुअल बैठकले रसुवाका बाढीपीडितका लागि तत्काल राहत तथा स्वास्थ्य सेवामा सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले प्राकृतिक विपत्तिको यस कठिन घडीमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई एकताबद्ध भएर मानवीय सहयोगमा जुट्न आह्वानसमेत गरेको छ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले रसुवा क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धारसँगै दीर्घकालीन राहत तथा पुनःस्थापनाका लागि एनआरएनए सक्रिय रूपमा अघि बढ्ने बताए ।

‘विपद्को यस कठिन समयमा विदेशमा रहेका नेपालीहरूको सामूहिक सहयोग र ऐक्यबद्धता आवश्यक छ,’ बैठकमा अध्यक्ष शर्माले भने । उनका अनुसार संघले तत्काल राहतका साथै प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा स्वास्थ्य, पुनःस्थापना तथा अन्य मानवीय सहयोगलाई निरन्तरता दिनेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार