Logo
१६ भाद्र २०८३, मंगलवार
|  Tue Sep 1 2026

प्रधानमन्त्री कार्यालयले राहत वितरणको जिम्मेवारीबाट हात झिक्यो भन्ने कुरा पूर्णतः निराधार


काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न विपद्मा नागरिकको जीवनरक्षा गर्न राज्यको सिङ्गो शक्ति प्रभावित क्षेत्रमा खटिएको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विगत छ दिनदेखि राज्यको सिङ्गो शक्ति प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिरहेको बताउँदै उनले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा गर्नु रहेको उल्लेख गरे ।

प्रवक्ता पोखरेलका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरू रातदिन नभनी स्थलगत रूपमा खटिएका छन् । नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरू परिचालित हुनुका साथै आवश्यकतालाई मध्यनजर गरी तयारी अवस्थामा पनि राखिएको उनले जानकारी दिए ।

सरकारका प्रवक्ता पोखरेलका अनुसार केहीबेर अघिसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ । खोज तथा उद्धारमा २१ हजार ८०० सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।

मन्त्री पोखरेलले बाढी गएको खबर पाउनसाथ प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रीसँगको समन्वयमा तत्कालै जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सबै किमिसका सुरक्षाकर्मी परिचालन गरी उद्धार कार्य सुरु गरिएको उल्लेख गरे । विकट ठाउँ, प्रतिकूल मौसम र बाढीका कारण हेलिकप्टर राख्ने ठाउँ खोज्न कठिन हुँदा पनि कुनै कसर बाँकी नराखी निरन्तर उद्धार कार्यलाई अघि बढाइएको उनको भनाइ छ ।

विदेशी सञ्चारमाध्यम र पत्रकारलाई सूचना र पहुँचमा कुनै रोक नलगाएको उनले स्पष्ट पारे । यद्यपि अहिले उद्धारका लागि हवाई सुरक्षा र अत्यधिक ‘एयर ट्राफिक’ का कारण एकैपटक धेरै हेलिकप्टर उडाउन सुरक्षाका दृष्टिले जोखिमपूर्ण छ । हवाई सुरक्षाको प्राविधिक मापदण्डलाई ध्यानमा राख्दै उडानहरू सञ्चालन र व्यवस्थित गरिएकाले यसलाई अन्यथा नलिन उनले सबैमा अनुरोध गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार