काठमाडौँ । राष्ट्रियसभाको मंगलबारको बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले रसुवाको भोटेकोशीमा आएको बाढीका विषयमा दलीय घेराभन्दा माथि उठेर मानवीय कार्यमा जुट्न आग्रह गरेका छन् ।
बैठकमा दलीय आधारमा बोल्दै नेपाली कांग्रेसका कमला पन्तले यही भदौ १० गते भएको विपत्तिपछिको उद्धार प्रयासलाई अत्याधुनिक उपकरण र विशेष जनशक्ति परिचालन गर्न आग्रह गरिन् । उद्धार र खोजका प्रयासबारे सरकारले संसद्मा आएर जवाफ दिनुपर्नेमा जोड दिँदै उनले यति ठुलो प्राकृतिक विपत्तिको सामनाका लागि राष्ट्रिय एकता र साझा पहल हुनुपर्ने बताइन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद झक्कुप्रसाद सुवेदीले नेपालीले अहिलेसम्म नभोगेको विपत्ति भोगेकाले उद्धार र राहत वितरणमा राजनीतिक दल र घेराभन्दा माथि उठेर लाग्नुपर्ने बताए । ठूला र धनी मुलुकले प्रमृतिमाथि गरेको दोहन र तापक्रम बढेका कारण यस्तो समस्या आएका विषयमा विश्व समुदायलाई बुझाउनुपर्नेमा उनले जोड दिए । उनले घाइते र विस्थापितमध्ये पनि सुत्केरी र बालबालिकालाई बेग्लै ढङ्गले सुरक्षित स्थलमा राख्न सुझाव दिए ।
नेकपा (एमाले) का डा प्रेमप्रसाद दङ्गालले आफूहरू विपद्मा परेका परिवारको साथमा रहेको जनाउँदै बेपत्ताहरूको खोजीका लागि युद्धस्तरमा लाग्न आग्रह गरे । उनले नदी तटमा अहिले पनि शवहरू यत्रतत्र छरिएर रहेको पाइएकाले तीनै तहका सरकारबीचको समन्वयन बढाएर काम गर्नुपर्ने बताए । उनले जलवायु न्यायको पहल गरी पृथ्वी र मानव सभ्यताको रक्षार्थ लाग्नुपर्ने बताए ।
जनता समाजवादी पार्टीका सांसद महन्थ ठाकुरले छिमेकीलगायत विश्वस्तरबाट सहयोग लिएर विपत्तिको सामना गर्न एकजुट हुनुपर्ने बताए ।नेपाली कम्युनिष्ट पार्टीका जयन्तीदेवी राईले बाढीबाट प्रभावितलाई तत्काल उचित राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन् । सोही पार्टीका नरबहादुर विष्टले विपद्को समयमा एकद्वार प्रणालीबाट राहत वितरण गर्दा प्रभावित थप पीडामा पर्न सक्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
कांग्रेसका नारायणदत्त मिश्रले मुलकको उत्तरी भेकमा रहेका जोखिमपूर्ण हिमतालका बारेमा तत्काल अध्ययन गर्न र विपद् उत्थानशील पूर्वाधार निर्माणको योजना बनाउन सरकारलाई सुझाव दिए ।नेपाली कम्युनिष्ट पार्टीका मदनकुमारी शाह ‘गरिमा’ ले राष्ट्रिय विपत्तिमा सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा खोज, उद्धार, राहत, पुनर्वास र पुनःनिर्माण गर्न माग गरिन् ।
कांग्रेसका युवराज शर्माले कमजोर पूर्वसूचना प्रणालीका कारण ठूलो क्षति भएको उल्लेख गर्दै उक्त प्रणालीलाई अत्याधुनिक बनाउन सरकारको ध्यानाकर्षण गराए ।नेपाली कम्युनिष्ट पार्टीका सुरेशकुमार आले मगरले जलवायु परिवर्तनको कारण भोटेकोशी विपत्ति सिर्जना भएकाले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताए ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सोनाम ग्याल्जेन शेर्पाले विपद्सँग जुध्न गर्न सिङ्गो मुलुक एकताबद्ध हुनुपर्नेमा जोड दिँदै बाढी प्रभावितको उद्धारमा सरकारको प्रयासको सरहाना गरे ।








