Logo
१७ भाद्र २०८३, बुधबार
|  Wed Sep 2 2026

सरकार विपद्को समयमा उद्धार र जनपरिचालनमा असफल भएको प्रचण्डको आरोप


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार विपद्को समयमा उद्धार र जनपरिचालनमा असफल भएको आरोप लगाएका छन् ।बुधबारको प्रतिनिधिसभा बैठकलार्ई सम्बोधन गर्दै प्रचण्डले सेना परिचालन गरेर मात्रै समाधान नहुने भन्दै जनपरिचालन हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘सरकार सुरुको दिनको तदारुकता र पछिल्लो दिनको उसको कार्यशैली, काम गराइमा फरक देखियो। सरकार उद्धार कार्यमा असफल भयो भन्ने सबैभन्दा बढी जनगुनासो सुनिएको छ। लुकाएर, ढाँटेर हुँदैन। सरकार उद्धार र जनपरिचालनमा असफल भयो ।’उनले सोसल मिडियामा पोस्ट गरेर संकटको समाधान नहुने बताए । उनले भने, सोसल मिडियामा पोस्ट गरेर तपाईंहरूले चुनाव त जित्नुभो, अहिलेको संकट समाधान हुँदैन ।’

उनले बाढी आएको दिन प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता देखेपछि सरकारबाट राम्रो पहल हुने विश्वास आफूले गरेको भएपनि पछिल्ला दिनमा सरकारको कामकारबाहीमा सुस्तता देखिएको बताए ।प्रचण्डले नेपाली सेनाले जोखिम मोलेर उद्धार तथा राहतमा महत्वपूर्ण भूमिका खेले पनि विपद्को सामना गर्न सबै तहका सरकार र आम नागरिकलाई विश्वासमा लिएर व्यापक परिचालन गर्न नसकिएको बताए।

प्रचण्डले राजनीतिक दल र नेताहरूले एकअर्काले गरेको राम्रो कामलाई राम्रो भन्न सक्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।भोटेकोसीमा आएको विपत्तिले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमलाई थप पुष्टि गरेको उनको भनाइ छ। उनले अन्तर्राष्ट्रिय मञ्चमा ‘क्लाइमेट जस्टिस’को विषय उठाउँदै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताए।
प्रधानमन्त्री प्रतिनिधिसभामा आएर सांसदहरूसँग संवाद नगरी फर्किएकोप्रति पनि उनले असन्तुष्टि जनाए ।


प्रतिक्रिया दिनुहोस !
विचार