काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन साहसँग भेटवार्ता गरेका छन् । बिहीबार उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा रसुवा बाढीपछिको अवस्था, उद्धार, राहतलगायतको विषयमा आफ्नो पार्टीको तर्फबाट लिखित र मौखिक सुझाव दिएको उज्यालो नेपाला पार्टीका अध्यक्ष घिसिङले जानकारी दिएका छन् । भेटमा प्रधानमन्त्रीले सुरुङभित्र थुनिएकाहरुलाई कसरी उद्धार गर्ने विषयमा घिसिङसँग जिज्ञासा राखेका थिए ।
उनले भने, ‘उद्धारका लागि समग्र रूपमा सुझाव दिएका छौँ । सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने विषयमै उहाँको जिज्ञासा थियो । त्यस सम्बन्धमा हामीले बुझेका र गर्नुपर्ने कुराहरू राखेका छौँ । उहाँले पनि सकेको जुनसुकै काम गर्नु परेपनि अगाडि बढ्ने भनेर भन्नुभएको छ ।’
अध्यक्ष घिसिङले उद्धार तथा राहतका लागि कुनै विशेष प्रविधिको आवश्यकता नरहेको बताए । उनले साधारण उपकरण र दक्ष उद्धार टोली परिचालन गरेरै उद्धार कार्य गर्न सकिने बताए ।घिसिङका अनुसार उद्धारका क्रममा मुख्य चुनौती भनेको जेसीबी, स्काभेटर, ड्रिलिङ मेसिनलगायतका हेभी इक्विपमेन्ट घटनास्थलसम्म पुर्याउनु हो ।उनले हेभी उपकरण घटनास्थलसम्म लैजान आवश्यक हेलिकप्टरलगायतका साधन तत्काल परिचालन गर्नुपर्नेमा जोड दिए । सुरुङभित्र फसेकाहरुको उद्धार उद्धार नभएको भन्दै सरकारको आलोचना भएपछि प्रधानमन्त्रीले घिसिङलाई भेट्न बोलाएका हुन् ।








