Logo
२९ भाद्र २०८३, सोमबार
|  Mon Sep 14 2026

पाँच टनेलमा उद्धार बाँकी छ, जसरी पनि उद्धार गर्नुस् : ज्ञानेन्द्र शाही


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले त्रिशूली क्षेत्रमा रहेका सुरुङभित्र अझै नागरिक अलपत्र रहेको भन्दै तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।बिहीबारको प्रतिनिधिसभा बैठकमा शाहीले सातवटा टनेलमध्ये दुईवटामा मात्रै उद्धार भएको र बाँकी पाँचवटा टनेलमा उद्धार हुन बाँकी रहेको दाबी गरे ।

टनेलको मुख बन्द नभएको दाबी गर्दै उनले जुम्लाका लालवीर बुढा, रमेश बुढा, रामचन्द्र बुढालगायत ६ जना व्यक्ति टनेलभित्र करिब २०० मिटरबाट जीवितै बाहिर आएको बताए ।उनले भने, ‘त्रिशूलीमा अहिले पनि मान्छे अलपत्र छन् टनेलभित्र । सेना भर्खरै उद्धार गरेको टनेल अपर त्रिशूली र लाङटाङ मात्र हो सात वटामा । सामाजिक सञ्जालमा सबै गरिसकेको भन्ने जुन हल्ला फैलाइएको जम्मा दुई वटा मात्र हो, पाँच वटा बाँकी छ । यो भाषण हैन, सरकारको कर्तव्य हो । जसरी पनि त्यो टनेलमा गइदिनुस्, म अपील गर्न चाहन्छु ।’

सांसदहरूसँग सेना परिचालन, बजेट तथा राज्यका स्रोत–साधन परिचालन गर्ने अधिकार नभएको भन्दै उनले उद्धारका लागि सरकार नै सक्रिय हुनुपर्ने बताए ।उनले भने, ‘हामीसँग सेना परिचालन गर्ने अधिकार छैन । हामी सांसद हौँ, वडा अध्यक्ष बराबर पनि बजेट बनाउने अधिकार छैन । हामीसँग बजेट परिचालन गर्ने अधिकार छैन । राज्यको स्रोत–साधन परिचालन गर्ने अधिकार छैन । यो अधिकार यही संसदभित्रका मन्त्रीहरूसँग छ, त्यही भएर सरकारलाई उद्धार गरिदिनुस् भनेको हो ।’


प्रतिक्रिया दिनुहोस !
विचार