Logo
२० भाद्र २०८३, शनिबार
|  Sat Sep 5 2026

नेपाल भ्रमणसम्बन्धी नयाँ ट्राभल एडभाइजरी,अमेरिकाको निर्देशन-बाढी आएको क्षेत्रमा नजानू, स्वास्थ्य बीमा गर्नू,


काठमाडौं । अमेरिकी दूतावासले नेपाल भ्रमणसम्बन्धी नयाँ ट्राभल एडभाइजरी जारी गर्दै प्राकृतिक विपद्को जोखिमका कारण नेपाललाई ‘लेभल–२’ अर्थात् बढी सावधानी अपनाउनुपर्ने मुलुकका रूपमा राखेको छ । दूतावासले रसुवाको रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमा नाकालाई ‘लेभल–४’ अर्थात् भ्रमण नगर्नुपर्ने क्षेत्रका रूपमा तोकेको छ।

सेप्टेम्बर ४ मा जारी एडभाइजरीमा अगस्ट २६ मा आएको ठूलो बाढी तथा पहिरोका कारण उक्त क्षेत्रमा यातायात र सञ्चार सेवा प्रभावित रहेको उल्लेख छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार र पुनःस्थापनाका काम भइरहेकाले थप बाढी तथा पहिरोको जोखिमसमेत रहेको दूतावासले जनाएको छ।दूतावासले भोटेकोसी, त्रिशूली र नारायणी नदी आसपासका क्षेत्र, नदी किनार, होचा भूभाग, क्षतिग्रस्त पुल तथा अस्थिर भिरालोबाट टाढा रहन अमेरिकी नागरिकलाई आग्रह गरेको छ।

विपद् प्रभावित क्षेत्रमा हराइरहेका व्यक्तिको खोजी गर्नसमेत स्वतन्त्र रूपमा प्रवेश नगर्न र उक्त क्षेत्रमा कुनै पनि कारणले यात्रा नगर्न दूतावासले चेतावनी दिएको छ।

नेपालमा भूकम्प, बाढी र पहिरोको जोखिम नियमित रहने उल्लेख गर्दै दूतावासले मनसुन अवधिमा भारी वर्षाका कारण आकस्मिक बाढी र पहिरो आउन सक्ने जनाएको छ।

त्यस्तै, नेपालमा स्वास्थ्य तथा आपतकालीन सेवाको क्षमता सीमित रहेको भन्दै अमेरिकी नागरिकलाई आवश्यक औषधि साथमा राख्न, यात्रा स्वास्थ्य बीमा गर्न तथा चिकित्सकीय उद्धार (मेडिकल इभ्याकुएसन) समेटिएको बीमा लिन दूतावासले सुझाव दिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार