काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको एक वर्ष पुगेको दिनलाई स्मृतिमात्रै नभई संकल्पको दिन बनाउनुपर्ने बताएकी छिन् ।सामाजिक सञ्जालमार्फत उनले एक वर्ष अघि गुमाएका युवाहरूको स्मृतिमा पुन: त्यस्तो दिन आउनपर्ने दिन नदोहोर्याउने प्रतिवद्धता गर्नुपर्ने बताएकी छिन् ।
अघिल्लो वर्ष २३ भदौमा जेनजी पुस्ताले सडकमा चर्को प्रदर्शन गरेको थियो । सोही दिन प्रहरीको गोली लागेर १९ जना युवाहरूले एकै दिन ज्यान गुमाएका थिए ।भोलिपल्ट उक्त आक्रोश सडकमा पोखिँदा तत्कालीन राज्य संरचना नै बदलिनेगरी देशभर आन्दोलन भएको थियो ।
सोही जगमा बनेको अन्तरिम सरकारले गरेको निर्वाचनपछिको वर्तमान सरकारमा गौतम कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा छिन् ।उक्त दिन सडकमा पोखिएको रगत स्मृतिबाट नमेटिने उनले उल्लेख गरेकी छिन् । तत्कालीन आन्दोलनको बेलामा राज्यसँग शक्ति, सुरक्षा संयन्त्र भए पनि भीड नियन्त्रणका लागि कम घातक विकल्प हुँदा हुँदै पनि सडकमा गोली चलेको उनले बताएकी छिन् ।








