काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८२ साल भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानमार्फत स्थापित गर्नुपर्ने बताएकी छन्।
घटनाको एक वर्ष पूरा भएको अवसरमा बुधबार सन्देश जारी गर्दै भण्डारीले ती घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन्। उनले घाइते तथा उपचाररत सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी छन्।
भण्डारीले एक वर्षको अवधिमा देशको राजनीतिक परिस्थितिमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै घटनाबाट उत्पन्न राजनीतिक असन्तुष्टि र नयाँ पुस्ताको आकाङ्क्षाले नेपाली राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको बताएकी छन्। निर्वाचनमार्फत जनताले आफ्नो अभिमतसमेत व्यक्त गरिसकेको भन्दै उनले परिवर्तनलाई लोकतान्त्रिक प्रक्रियाबाट संस्थागत गर्दै सुशासन, पारदर्शिता, जवाफदेहिता र समृद्धिको दिशामा अघि बढ्नु सबैको साझा जिम्मेवारी भएको बताएकी छन्।
तर, घटनाको एक वर्ष बितिसक्दा पनि भदौ २३ र २४ का कतिपय गम्भीर प्रश्न अनुत्तरित रहेको उनको भनाइ छ। उनले दुवै दिनका घटनालाई एउटै प्रकृतिका रूपमा हेर्न नहुने बताउँदै भदौ २३ गते भएको मानवीय क्षति र त्यसपछिको भदौ २४ गते देखिएको हिंसा, आगजनी, तोडफोड तथा सार्वजनिक र निजी सम्पत्तिको विनाशको प्रकृति र परिस्थिति फरक रहेको उल्लेख गरेकी छन्।








