काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले प्रधानमन्त्री बालेन साहले जेनजी स्मृति दिवसको वेवास्ता गरेको भन्दै आपत्ति जनाएकी छन् ।बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले प्रधानमन्त्रीले जेनजीकाबारे केही नबोलेको र साँझ दुई शब्द मात्र लेखेको भन्दै आपत्ति जनाएकी हुन् । त्यस्तै उनले सहिद तथा घाइतेका परिवारलाई प्रधानमन्त्रीले नभेटेको भन्दै आक्रोश पोखिन् । उनको प्रश्न थियोे, ‘अब म यो सरकारलाई दुई वटा प्रश्न सोध्न चाहन्छु– सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? सहिद परिवार र घाइते परिवारलाई भेट्न अब कति वर्ष लाग्छ?’
यस्तै उनले प्रधानमन्त्रीले जेनजीको बलिदानलाई वेवास्ता गरेको बताइन् । उनले भनिन्, ‘जेनजी आन्दोलन भएको एक वर्ष भयो। देशले सहिद पायो, एक दिन बिदा पायो। निमन्त्रणा दिएर कि त आइदिनुस्, केही त केही बोलिदिनुस् जेनजी सहिदका नाममा केही लेखिदिनुस् भनेर बिहान ७ बजेदेखि भन्दाभन्दा बेलुकी ७ बजे स्टाटस त आयो, अन्तमा एक वर्षपछि सहिदलाई श्रद्धाञ्जली ।’
खतिवडा जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा हुन् । मंगलबार जेनजी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सहभागी भएनन् । राति सात बजे प्रधानमन्त्रीले लेखे, प्रिय जेनजी, सुशासन कायम हुने नै छ, सहिदरूप्रति हार्दिक श्रद्धाञ्जली ।’








