काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सङ्घका महासचिव भरतबहादुर चन्दले उक्त रकमको ‘चेक’ तथा ‘भउचर’ बुधबार हस्तान्तरण गरेका छन् ।गैरनाफामुखी सो सामाजिक संस्थाको सञ्जालभित्रका अस्पताल, आँखा उपचार केन्द्र तथा जिल्ला शाखालगायत संस्थागत स्रोतबाट ९९ लाख ७४ हजार ५०६ र कर्मचारी तथा स्वयंसेवकबाट ४१ लाख ६६ हजार ६३५ सङ्कलन गरिएको थियो ।
यही भदौ १० गते भोटेकोसीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा मानवीय तथा भौतिक क्षति भएको थियो । बाढी प्रभावित नागरिकको दैनिक जीवन, स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर परेको परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारद्वारा आह्वान गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णयअनुसार उक्त रकम सङ्कलन गरिएको सङ्घले जनाएको छ ।








