काठमाडौँ, २६ भदौःः
गोकर्णेश्वरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको घुइँचो
कुशे औँशीका दिन आज काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्न आएका सर्वसाधारण नागरिकको घुइँचो । तस्बिरः हरिराम भेटुवाल/रासस
काठमाडौँ । काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ ।आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले पितृभक्तको यहाँ भीड लागेको हो । दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्ने तथा यस दिन वर्षभरिका धार्मिक कृत्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशेऔँसी भनिएको हो । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ।
कुशे औँसीका अवसरमा आज बिहानैदेखि गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्दै तर्पण, आमान्न र पिण्डदान गर्ने पितृभक्तको घुइँचो लागेको छ । धार्मिक मान्यताअनुसार भाद्रपद कृष्ण औँसीका दिन गोकर्णेश्वरमा श्राद्ध तथा तर्पण गर्दा २१ पुस्तासम्मका पितृले मुक्ति पाउँछन् ।
गोकर्णेश्वर मन्दिरका पुजारी जगदीश भट्टका अनुसार सत्ययुगमा ब्रह्माले स्थापना गरेको धार्मिक विश्वास रहेको यस तीर्थमा श्राद्ध तथा तर्पण गर्दा पितृले मुक्ति पाउने धर्मशास्त्रमा वर्णन छ ।
बौद्ध धर्मगुरु ऐतमान लामाका अनुसार बौद्ध धर्मावलम्बी पनि बाबुको निधन भएको एक वर्षभित्र गोकर्णेश्वरमा पुगेर श्राद्ध तथा पूजाआजा गर्ने र त्यसपछि भोज खाने परम्परा छ । यस दिन गोकर्णेश्वर महादेवको दर्शन गरेमा दिवङ्गत बाबुको प्रतीकात्मक दर्शन भएको मानिन्छ ।








