काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको उद्धार कार्यमा सहभागी भएका छन् ।चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध–निर्देशकका रूपमा विद्युतगृह सञ्चालनको अनुभवका आधारमा आफूले उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय तथा सहजीकरण गरिरहेको उनले बताएका छन् ।
घिसिङका अनुसार विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा जम्मा भएको लेदो, बालुवा र ढुंगा हटाउने काम तीव्र पारिएको छ । उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढिरहेको उनले बताए ।सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटरभित्र आवाज पठाउँदा त्यसको इको सुनिएको र त्यहाँबाट चिसो हावा समेत आएको उनले जानकारी दिएका छन् । यसले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा बलियो बनाएको उनको भनाइ छ ।
उनका अनुसार अहिले विद्युतगृह पुग्न करिब १०० मिटर मात्रै बाँकी छ । ‘प्रत्येक मिटरको प्रगति र प्रत्येक संकेतले हामी सबैमा नयाँ आशा जगाएको छ,’ उनले भनेका छन् ।स्याफ्रुवेसीतर्फबाट स्केभेटरमार्फत सुरुङसम्म बाटो बनाउने काम पनि तीव्र रूपमा भइरहेको उनले बताएका छन् । आजसम्म स्केभेटर सुरुङसम्म पुग्ने सम्भावना रहेको र स्केभेटर तथा लोडर पुगेपछि उद्धार कार्यमा थप गति आउने उनले उल्लेख गरेका छन् ।
उद्धार कार्य सफल हुने विश्वास व्यक्त गर्दै घिसिङले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमे जलविद्युत कम्पनीका कर्मचारीप्रति आभार व्यक्त गरेका छन् ।उनले सुरुङभित्र रहेका सबै व्यक्तिलाई सकुशल उद्धार गर्न सकियोस् भन्दै उद्धारमा खटिएका सबैको अथक प्रयास सफल होस् भन्ने कामना गरेका छन् ।








