अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध युद्ध सुरु गरेकोमा आफूलाई कुनै पछुतो नभएको बताएका छन् ।नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनमा युद्धको असर पर्न सक्ने भए पनि आफूले गरेको निर्णयप्रति पछुतो नरहेको ट्रम्पको भनाइ छ ।
‘फक्स न्युज’की प्रस्तोता लौरा इन्ग्राहमसँगको अन्तर्वार्ताका क्रममा उनलाई मध्यावधि निर्वाचनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै इरानविरुद्ध युद्ध सुरु गरेकोमा अफसोस छ कि छैन भनेर सोधिएको थियो । जवाफमा ट्रम्पले आफू ‘पछुतो’ भन्ने शब्दमा विश्वास नगर्ने बताए । ‘तपाईंले सधैँ आफूले गरेको निर्णयबारे केही हदसम्म प्रश्न गर्न सक्नुहुन्छ,’ उनले भने ।
बिहीबार प्रसारित कार्यक्रम ‘द इन्ग्राहम एंगल’मा ट्रम्पले आफूले फेरि पनि त्यस्तै निर्णय लिनुपर्ने अवस्था आए उही कदम चाल्ने स्पष्ट पारे । ट्रम्पले आफ्ना केही समर्थक इरानविरुद्धको युद्धका कारण असन्तुष्ट र निरुत्साहित भएको भन्ने दाबीलाई पनि अस्वीकार गरेका छन् ।








