काठमाडौं । नेकपा एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले अस्पतालबाट सुत्केरी निकालिनु दु:खद घटना मात्रै नभएको बताएकी छन् । यो सरकारको गैरजिम्मेवारीपनको उदाहरण भएको उनको भनाइ छ ।
शुक्रबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘अस्पतालको पेटीमा जन्मिएको नयाँ जीवनसँगै सरकारको संवेदनहीनता र गैरजिम्मेवारीपनको दु:खद इतिहासको पनि जन्म भएको छ ।’राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवान पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माउन बाध्य भएकी छन् ।
ती महिलासँग २ हजार ५ सय मात्रै रहेको र यति पैसामा अस्पतालले भर्ना गर्न नमानेकाकारण निकालिएकी थिइन् । त्यसपछि अस्पताल नजिकै फुटपाथमै बच्च जन्माएकी थिइन् ।हिजो केपी शर्मा ओलीको सरकार हुँदा कर्णालीको आमाहरूको हेलिकोप्टरबाट उद्धार भएको र आज सुत्केरी हुँदा सडकपेटीमा बच्चा जन्माउनुपरेको उनको भनाइ थियो ।








