काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले साइबर सुरक्षा जोखिम देखाउँदै विद्युतीय खरिद प्रणाली (ई–जिपी) अनिश्चितकालका लागि बन्द गरिएकोप्रति आपत्ति जनाएका छन् ।सामाजिक संजालमार्फत अध्यक्ष घिसिङले सार्वजनिक खरिद प्रक्रियालाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय बनाउन सञ्चालनमा ल्याइएको ई–जिपी बन्द गर्नु गम्भीर विषय भएको बताएका हुन् ।
भदौ, असोज र कात्तिक महिना नयाँ ठेक्का आह्वान तथा बजेट कार्यान्वयनलाई गति दिने महत्वपूर्ण समय भएकाले यही बेला प्रणाली बन्द हुँदा संघ, प्रदेश र स्थानीय तहका सयौँ सार्वजनिक खरिद तथा विकास निर्माणका काम प्रभावित हुने उनको भनाइ छ ।ई–जिपी बन्द गरेर पुनः कागजी प्रक्रियामा फर्किँदा बोलपत्र आह्वानदेखि खोल्ने, प्रस्ताव मूल्याङ्कन गर्ने तथा विभिन्न चरणका समयसीमा व्यवस्थापन गर्न कठिनाइ हुने घिसिङले बताएका छन् ।
उनले कागजी प्रक्रियामा फर्किँदा मिलेमतो, अस्वस्थ प्रतिस्पर्धा, दबाब, धम्की र गुन्डागर्दीजस्ता पुराना विकृतिले पुनः प्रश्रय पाउने जोखिम रहेको उल्लेख गरेका छन् । यस्तो अवस्थाले सार्वजनिक खरिदलाई अपारदर्शी बनाउनुका साथै सरकारको सुशासनसम्बन्धी प्रतिबद्धतामाथि समेत प्रश्न उठाउने उनको भनाइ छ ।
लामो समयसम्म ई–जिपी अवरुद्ध हुँदा हजारौँ निर्माण व्यवसायी, आपूर्तिकर्ता तथा परामर्शदाता प्रभावित भइरहेको भन्दै घिसिङले प्रणालीलाई अनिश्चितकाल बन्द राख्नुको सट्टा सुरक्षा जोखिम तत्काल पहिचान, नियन्त्रण र प्राविधिक समाधान गरी सुरक्षित रूपमा सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् ।
अध्यक्ष घिसिङले ई–जिपीलाई दीर्घकालीन रूपमा साइबर सुरक्षा जोखिमबाट सुरक्षित बनाउन प्राविधिक स्तरोन्नति, नियमित सुरक्षा परीक्षण, ब्याकअप तथा आपत्कालीन पुनःसञ्चालन प्रणाली सुनिश्चित गर्नसमेत माग गरेका छन्।








