Logo
२५ कार्तिक २०८३, बुधबार
|  Wed Nov 11 2026

राहत,उद्धार तथा पुनःस्थापनाको कामलाई व्यवस्थित बनाउन उच्चस्तरीय संसदीय समिति गठन गर्न कांग्रेसको माग


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपत्तिपछि राहत, उद्धार तथा पुनःस्थापनाको कामलाई व्यवस्थित र पारदर्शी बनाउन उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने बताएका छन्।मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा सभामुख डीपी अर्यालसँग भेटवार्ता गर्दै आङदेम्बेले समसामयिक राजनीतिक विषय तथा प्रतिनिधिसभाका गतिविधिबारे छलफल गरेका हुन्।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विपत्तिका बेला प्रभावित नागरिकलाई राज्यको अनुभूति दिलाउन संसदीय उच्चस्तरीय समिति आवश्यक रहेको बताए।सर्वदलीय बैठकमा समिति गठन गर्ने विषय उठेको र सत्तापक्षका सभापतिले संसद्को रोस्ट्रमबाट समेत त्यसलाई उल्लेख गरेको भन्दै उनले १७–१८ दिन बितिसक्दा पनि समिति गठन नभएको बताए।

उनले विपत्तिमा सहयोग गर्ने व्यक्ति तथा संस्थाबाट प्राप्त राहत र सहयोगको सदुपयोग भइरहेको छ भन्ने विषयमा समेत राज्यले स्पष्ट पार्नुपर्ने बताए।आङदेम्बेले संसदीय उच्चस्तरीय समिति सरकारको विरोधका लागि नभई सरकारलाई थप व्यवस्थित र जिम्मेवार बनाउनका लागि आवश्यक रहेको स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !
विचार