Logo
३१ भाद्र २०८३, बुधबार
|  Wed Sep 16 2026

‘नेपाली कांग्रेसलाई कमजोर गर्ने कार्य हुँदा म मुकदर्शक भएर बस्न सक्ने छैन,’ :शेरबहादुर देउवा


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

मंगलबार अपील जारी गरी देउवाले पार्टीको विधि, विधान, पद्धति र केन्द्रीय समितिका निर्णयविपरीत ‘विशेष महाधिवेशन’का नाममा गतिविधि भइरहेको दाबी गरेका छन् । उनले विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अन्तिम निर्णय नहुँदै त्यससम्बन्धी प्रक्रिया अघि बढाउनु उचित नभएको बताएका छन्।देउवाले ‘अवैधानिक विशेष महाधिवेशन’बाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

उनले पार्टीभित्र सहमति र सहकार्यबाट विवाद समाधान गर्ने पर्याप्त सम्भावना हुँदाहुँदै बहुसंख्यक नेता तथा कार्यकर्ताको सहभागिताबिना महाधिवेशन अघि बढाउनु कांग्रेसलाई कमजोर बनाउनु मात्र भएको उल्लेख गरेका छन् ।

देउवाले आफूलाई कुनै पदको लोभ नरहेको स्पष्ट पार्दै १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको बताएका छन्।
‘पार्टीलाई कमजोर गर्ने गरी अवैधानिक रूपमा अधिवेशन गरिएमा मुकदर्शक भएर बस्न सक्दिनँ,’ देउवाले अपीलमा भनेका छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार