काठमाडौं । बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। ट्रयाक निर्माण सम्पन्न भएसँगै भोलिदेखि सडकखण्डमा नियमित रूपमा पूर्ण क्षमतामा सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम पूरा गरी नयाँ ट्रयाकमा केही सवारीसाधन परीक्षणका रूपमा सञ्चालन गरिएको थियो। परीक्षण सफल भएपछि नियमित सवारीसाधन सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाइएको कार्यालयले जनाएको छ। करिब ३०० मिटर लामो नयाँ ट्रयाक निर्माण गरिएको छ। ट्रयाकमा करिब ७ मिटर चौडाइको सडक र नालीसहित करिब साढे ७ मिटर चौडाइको संरचना तयार गरिएको छ।








