Logo
३१ भाद्र २०८३, बुधबार
|  Wed Sep 16 2026

‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’को उद्घाटन,पुराना ढड्डा पनि ‘डिजिटलाइज्ड’ गर्ने योजना


काठमाडाैं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’को परीक्षणको संयुक्त उद्घाटन गरेका छन् ।डिजिटल पार्लियामेन्ट परियोजनाले यो कार्यक्रम सुरु गरेको हो । डिजिटल संसदको माध्यमबाट संसदीय कामकारबाहीलाई प्रविधिमैत्री, पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाइने संसद् सचिवालयले जनाएको छ ।

उद्घाटन कार्यक्रममा सभामुख अर्यालले संसद्का सूचना, विधेयकका अवस्था, क्यालेन्डर, सांसदहरूको उपस्थिति, समिति तथा उपसमितिका विवरणहरूलाई एउटै प्लेटफर्ममा समेट्ने गरी नयाँ प्लेटफर्म सञ्चालनमा ल्याइएको बताए । नेपालको संसदीय इतिहासका पुराना ढड्डा तथा दस्तावेजलाई डिजिटलाइज गरी सयौँ वर्षसम्म सुरक्षित राख्ने र अध्ययन–अनुसन्धानका लागि सहज हुने उनको भनाइ छ । व्यवस्थापिका मात्र नभई कार्यपालिका, न्यायपालिका तथा तीनै तहका सरकारहरूलाई पारदर्शी, नागरिकमुखी र जनताको विश्वास जगाउने दिशामा अघि बढाउन प्रविधिको प्रयोग अपरिहार्य रहेको उनको भनाइ छ ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद्, संसदीय समिति र सचिवालयका कामकारबाहीलाई परम्परागत कागजी ढाँचाबाट डिजिटल प्रणालीमा लगेर छिटो, पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउन सहज हुने विश्वास व्यक्त गरे ।डिजिटल पूर्वाधार, डाटा सेन्टर, नेटवर्क, साइबर सुरक्षा, ई–लेजिस्लेसन तथा संसदीय अभिलेखलाई डिजिटल आर्काइभमा सुरक्षित गर्ने विषयलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा कार्यक्रममा जोड दिइएको छ । डिजिटल पार्लियामेन्टलाई प्रविधि खरिदमा मात्र सीमित नराखी नेपालको संसदीय अभ्यासलाई डिजिटल युगअनुकूल रूपान्तरण गर्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाउनुपर्ने कार्यक्रमका वक्ताले बताए ।

अहिले संसद् सचिवालयले प्रयोग गरिरहेको वेबसाइटमा नै सचिवालयले सूचनाहरू राख्ने गरेको छ । सांसदहरूले बोलेको भिडीयोमै उपलब्ध हुन्छ । लिखित रूपमा भने सचिवालयको पुस्तकालयमा सुरक्षित राख्ने गरिएको छ । युट्युब च्यानलमार्फत पनि अधिवेशनको प्रत्यक्ष प्रसारण हुन्छ । अब भने अधिवेशनका गतिविधि अक्षरमा उतारेर डिजिटल माध्यमबाट दिइने छ ।


प्रतिक्रिया दिनुहोस !
विचार