काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार बसमा जलेर मृत्यु हुने चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका अर्जुन दोङ तामाङ हुन् ।
मृतक दोङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ का हुन् । करिब २२ वर्षीय दोङका दुई श्रीमती र एक छोरा रहेको पनि पुष्टि भएको छ । उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा राति निधन भएको प्रहरीले बताएको छ ।
अर्जुनले आत्मदाह गरेको खबरपछि परिवारका सदस्यहरु काठमाडौं आएका छन् । अर्जुनका बाबु छैनन् भने सात जना दाजुभाइमा उनी कान्छा हुन् । सातमध्ये एक दाइ विदेशमा छन् । दुवै श्रीमती र छोरासहित परिवारका सदस्यहरु अहिले किर्तिपुर बर्न अस्पतालमा आएका छन् ।
अस्पताल अगाडि सडकमा अहिले अर्जुनको न्याय माग्दै प्रदर्शन भइरहेको छ । अर्जुनका परिवार, आफन्त तथा यातायात व्यवसायी प्रदर्शनमा संलग्न छ । अर्जुनको शव निकालिएको छैन ।








