जापानमा जारी २०औँ एसियाली खेलकुदको बक्सिङमा नेपालले पहिलो जित हात पारेको छ। पुरुष ६० केजी तौल समूहमा खगेन्द्र रोका मगरले मकाउका जोन रेयेस सालिनासलाई ५–० को सर्वसम्मत निर्णयमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका छन्।
आइचीस्थित निशियो जिम्नेसियममा बुधबार भएको प्रारम्भिक चरणको बाउटमा पाँचै निर्णायकको निर्णय आफ्नो पक्षमा पार्दै खगेन्द्रले प्रतियोगितामा नेपालको बक्सिङ अभियानलाई अगाडि बढाए।
खगेन्द्रको जित जारी एसियाड बक्सिङमा नेपालको पहिलो जित हो। लगातार तीन पराजयपछि खगेन्द्रले दिलाएको जितले नेपाली बक्सिङलाई प्रतियोगितामा अगाडि बढाएको छ।नेपालबाट यसपटक एसियाड बक्सिङमा सात खेलाडी सहभागी छन्। खगेन्द्रसँगै अब महिला ६५ केजीमा कुसुम तामाङ, पुरुष ९० केजीमा रबिन नेपाल र महिला ५४ केजीमा अस्मिता दुवालको चुनौती बाँकी छ।
२०औँ एसियाली खेलकुदको बक्सिङमा ३३ राष्ट्रिय ओलम्पिक कमिटीका १९० खेलाडी सहभागी छन्। प्रतियोगिता निशियो जिम्नेसियममा अक्टोबर २ सम्म सञ्चालन हुनेछ।








