काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधिसभाको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन् । आजकै बैठकमा पेस गर्न अनुमति मागेको प्रस्ताव स्वीकृत भएपछि उनले विधेयक प्रस्तुत गरेका हुन् ।
विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले पोहोरमैलाको वैज्ञानिक व्यवस्थापन, स्रोतको परिचालन र स्वच्छ वातावरणको निर्माणमा यस विधेयकले कोसेढुङ्गाको काम गर्ने बताए।मन्त्री लम्सालले फोहोरमैलाको उत्सर्जन, सङ्कलन, विसर्जन र समग्र व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भूमिका र जिम्मेवारी स्पष्ट पार्न यो विधेयक आवश्यक रहेको उल्लेख गरे।
विधेयकको मुख्य ध्येय पोहोर मैलाको समुचित व्यवस्थापनद्वारा स्वच्छ र स्वस्थ वातावरण कायम गर्नु रहेको मन्त्री लम्सालले बताए। उनले भने, ‘मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न र चक्रीय अर्थतन्त्रको अवधारणाअनुरूप पोहोर मैलाको प्रशोधन गरी स्रोतसाधनको रूपमा उपयोग गर्न यो विधेयक ल्याइएको हो।’
मन्त्री लम्सालले फोहोरमैला व्यवस्थापनको कार्यलाई दिगो र व्यवस्थित बनाउन सङ्घीय कानुन वाञ्छनीय भएको र सोही आवश्यकतालाई सम्बोधन गर्न यो विधेयक संसदमा प्रस्तुत गरिएको जानकारी दिए ।








