काठमाडौं । मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता आगामी असोज १२ गतेदेखि बुटवलमा आयोजना हुने भएको छ ।मदन भण्डारी स्पोट्र्स एकेडेमीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बार्षिक क्यालेण्डर अनुसार बुटवलमा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता आयोजन गर्न लागिएको जनाएको हो ।
असोज १७ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल पुलिस क्लव, नेपाल एपीएफ क्लव, गुजरात स्टेट भलिबल एसोसिएसन भारत, खैरा क्लव पन्जाव भारत, श्रीलंका पुलिस क्लव कोलम्बो, मणिमुकुन्द भलिबल क्लव बुटवल, सभापोखरी भलिबल क्लव संखुवासभा र गलकोट भलिबल क्लव, बाग्लुङ गरि ८ टीमको सहभागीता रहने मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए ।प्रतियोगिताको विजेता हुने टोलीले ७ लाख रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार, तेस्रो हुनेले एक लाख ७५ हजार र सान्त्वना हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार पाउने उनले बताए ।
विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही ८ हजार र सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने अध्यक्ष आचार्यले बताए । प्रतियोगीताको अनुमानीत बजेट रु १ करोड ५३ लाख ४४ हजार ९ सय रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गरिने आयोजकको भनाइ छ । प्रतियोगितामा सहभागी खेलाडी, निर्णायक तथा आवश्यक प्राविधिक जनशक्तिका लागि दुर्घटना बिमाको व्यवस्था गरिएको छ ।








