काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच न्युयोर्कस्थित मुख्यालयमा द्विपक्षीय भेटवार्ता भएको छ।
बुधबार न्युयोर्क आइपुगेका प्रधानमन्त्री शाहले बिहीबार महासचिव गुटेरेससँग भेटघाट गरेका हुन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६ः३० बजे (नेपाली समयअनुसार शुक्रबार बिहान ४ः१५ बजे) महासचिव गुटेरेससँग भेट गरेका हुन्।
महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताए। महासचिव एन्टोनियो गुटेरेसले आफू सधैं नेपालको सहयोगमा रहने बताएका छन ।
आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त पनि गरे ।
प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिए । भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताए ।








