Logo
९ आश्विन २०८३, शुक्रबार
|  Fri Sep 25 2026

८ करोड ४२ लाख ३६ हजार बिगोका १२ बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ


काठमाडौं । ८ करोड ४२ लाख ३६ हजार रुपैयाँ बिगो कायम भएका १२ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ओखलढुंगा चम्पादेवी गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्दै आएका ४८ वर्षीय शेरबहादुर मगरलाई ललितपुर महानगरपालिका–१० बाट पक्राउ गरिएको हो।

मगरविरुद्ध उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत र भक्तपुर जिल्ला अदालतमा दायर भएका बैंकिङ कसुरसम्बन्धी १२ वटा मुद्दामा विभिन्न मितिमा फैसला भएको थियो। अदालतको फैसलाअनुसार उनलाई २ वर्ष १४ दिन कैद र ६२ लाख १० हजार १०० रुपैयाँ जरिवाना तोकिएको थियो।

फैसला कार्यान्वयनका लागि प्रहरीले उनलाई बिहीबार पक्राउ गरी काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराएको जनाएको छ।प्रहरीका अनुसार मगरविरुद्ध काठमाडौं र ललितपुरका विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी थप मुद्दासमेत दर्ता छन्। ती मुद्दामध्ये केहीमा बिगो रकम खुलेको छैन भने केहीमा करोडौँ रुपैयाँसम्मको बिगो कायम गरिएको छ।

प्रहरीले विभिन्न मुद्दाको विवरणअनुसार मगरसँग सम्बन्धित कुल बिगो रकम ८ करोड ४२ लाख ३६ हजार रुपैयाँ रहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार