Logo
१० आश्विन २०८३, शनिबार
|  Sat Sep 26 2026

भोटेकोसी बाढीको एक महिनाः५ हजार ५५० जना अझै बेपत्ता,खोज, उद्धार र राहत जारी


काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा अकस्मात बाढी गएको एक महिना भएको छ । गत १० भदौ बिहान गएको सो अकल्पनीय बाढीको महाविपत्‌बाट रसुवा, नुवाकोट, धादिङसहितको जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्‍याएको छ । राष्ट्रिय विपत्् जोखिम न्यूनीकरकण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीबाट हालसम्म १ हजार ४५३ जनाको अकालमा मृत्यु भएको छ भने ५ हजार ५५० जना अझै बेपत्ता छन् । यसैगरी १३ हजार ७९५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका प्रभावित आश्रयस्थलमा पनि छन् । बाढी प्रभावितको खोज, उद्धार तथा राहतसहित अन्य सेवाका लागि तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी अहोरात्र तल्लीन छन् ।

बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोडभन्दा बढीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ । उक्त विपत्‌को द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनअनुसार पुनर्निर्माण एवं पुनर्स्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्नेछ । विनाशकारी बाढीबाट ७ हजार ५७० निजी घरहरू क्षतिग्रस्त भएका छन् । यसबाहेक ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ । सात सय ५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाटका पाँचवटा सोलार प्लान्ट प्रभावित भएका छन् भने ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त, ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ बगेका छन् ।

यस्तै, ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । करिब ७ हजार ५७० घर प्रभावित हुँदा ८ हजार ३०० घरपरिवार र करिब ४० हजार जनसंख्या प्रभावित भएका छन् । बाढीका कारण उत्पादन क्षेत्रअन्तर्गत १ हजार ८०६ हेक्टर कृषि बालीका साथै पशुपालन, पंक्षीपालन तथा माछापालन पनि प्रभावित भएको छ । त्यसैगरी, १७ बैंक शाखा र ४ हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् । बाढी प्रभावितको खोज, उद्धार तथा राहत वितरण जारी छ भने क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माण, सडक सञ्जालको पहुँचले जोड्नेलगायतका कार्य द्रुत जारी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार