काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनालाई लिएर सरकारको आलोचना गरेका छन् । सोमबारको प्रतनिधिसभा बैठकमा उनले जबरालाई मध्यरातमा पक्राउ गर्नु कानुनी शासन र लोकतान्त्रिक मूल्यविपरीत भएको बताएका हुन् ।
महरले बिना कसुर र अभियोग जबरालाई पक्राउ गरिएको दाबी गरे । उनले सरकारको कदमलाई ‘राज्य आतंकको बर्बर नमुना’ को संज्ञा दिए ।‘बिनाकसुर, बिनाअभियोग पक्राउ गरिएको छ । लोकतन्त्रमा कोही पनि कानुन र प्रश्नभन्दा माथि हुँदैन,’ महरले भने ।
सरकारले आफ्ना गतिविधिको विरोध गर्नेहरूलाई दुःख दिने गरेको आरोप लगाउँदै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि पनि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको टिप्पणी गरे ।
जबरालाई धम्की दिने व्यक्तिहरूलाई कारबाही नगरी उनलाई नै पक्राउ गरिएको भन्दै महरले आपत्ति जनाए । उनले जबरालाई धम्की दिने जेनजी समूहका व्यक्तिहरूलाई सार्वजनिक गर्न सरकारसँग माग गरे ।








