Logo
१२ आश्विन २०८३, सोमबार
|  Mon Sep 28 2026

बाढीका कारण ६२० मेगावाट विद्युत् उत्पादन प्रभावित


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बाढीपहिरोका कारण देशका विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा ६२० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको जनाएको छ ।

सोमबार प्राधिकरणले पत्रकार सम्मेलन गरी प्राधिकरण र त्यसका सहायक कम्पनीका संरचनामा ७४ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको जानकारी दिएको हो ।प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठकले भोटेकोसी बाढीबाट ४३० मेगावाट र पछिल्लो बाढीपहिरोबाट थप १९० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको जानकारी दिए । बाढीपहिरोबाट क्षति पुगेका केही आयोजना मर्मतपछि सञ्चालनमा आइसकेका छन् भने अन्य आयोजनाको मर्मत कार्य जारी रहेको उनले बताए ।

कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा पनि क्षति पुगेको छ । सडक अवरुद्ध भएकाले उक्त स्थानसहित अन्य प्रभावित क्षेत्रको विस्तृत विवरण आउन बाँकी रहेको छ । प्राधिकरणले क्षतिग्रस्त संरचनाको मर्मत गरी विद्युत् उत्पादन तथा प्रसारण यथाशीघ्र सञ्चालनमा ल्याउन प्राविधिक टोली परिचालन गरेको जनाएको छ ।

बाढीपहिरोबाट विद्युत् उत्पादनमा क्षति पुगेका बेला नेपाल विद्युत् प्राधिकरणले आगामी सुखायाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न १ हजार १५४ मेगावाट विद्युत् आयात गर्ने योजना बनाएको छ । प्राधिकरणका अनुसार सुखायाममा आन्तरिक उत्पादनबाट १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान छ ।

विद्युत् माग व्यवस्थापनका लागि ढल्केवर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसीमार्फत १५० मेगावाट विद्युत् आयात गर्ने योजना रहेको छ । आन्तरिक उत्पादन र आयातसहित सुखायाममा कुल २ हजार ३७२ मेगावाट विद्युत् उपलब्ध हुने प्राधिकरणको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस !
विचार