Logo
१६ आश्विन २०८३, शुक्रबार
|  Fri Oct 2 2026

बाढी पसेर क्षति पुगेपछि रेलेखोला जलविद्युत् आयोजना बन्द


म्याग्दी।  बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको छ।

ह्युम कन्सल्ट प्राली प्रवर्द्धक रहेको ६ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फेदीस्थित बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको हो।

आयोजना प्रमुख दार्शनिक काफ्लेले यही असोज ८ देखि ११ गतेको झरी र बाढी पहिरोका कारण विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको जनाए।

रेलेखर्क क्षेत्रमा पहिरो गई रेलेखोलामा बाढीको सतह बढेर आउँदा बाँधमा थुप्रिएको छ। भौगोलिक रुपमा दुर्गम र विकट क्षेत्रमा रहेको बाँध स्थलसम्म पुग्ने पहुँचमार्ग पनि पहिरोका कारण अवरुद्ध भएकाले बाढी पन्छाएर आयोजना सञ्चालन गराउन समस्या भएको छ।

बाँधका भौतिक संरचना क्षति भएको छ। आयोजनाले विद्युत् बिक्री गर्न नपाउँदा नोक्सानी भएको छ। गत वर्ष निर्माण सम्पन्न भएको आयोजनाको विद्युत् २२० केभी क्षमताको दाना सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा आबद्ध भएको छ।कालीगण्डकीको बाढीपहिरोले प्रसारण लाइनको टावर बगाउने र तार चुँडाएर क्षति पुर्‍याएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार